चितवनमा सम्पन्न उपनिर्वाचनको पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् ।
उनले नेकपा एमालेका रामप्रसाद न्यौपानेले भन्दा झण्डै दोब्बर मतले अग्रता बनाएका छन्। लामिछानेले १ हजार १ सय ५५ मत प्राप्त गर्दा न्यौपानेले ६ सय ५५ मत पाएका छन्। नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५ सय ८८ मत प्राप्त गरेका छन्।
इच्छाकामना गाउँपालिका १ र ३ को मतगणना सकिएको छ।
यसैगरी बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाह अघि लागेका छन्।
कुशवाहले ११ सय ४६ मत पाएका छन् भने जसपाका अध्यक्ष उपेन्द्र यादवले ११ सय १७ मत प्राप्त गरेका छन्।
नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५ सय ३८ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ सय ४४ मत पाएका छन्।
यसैगरी उता तनहु १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लले १७ हजार ९ सय २ मतले अग्रता कायम गरेका छन् भने कांग्रेसका गोबिन्द भट्टराईले १० हजार २ सय २८, एमालेका सर्वैन्द्र खनालले ५ हजार ८ सय ६६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभा गुरुङले ९८ मत प्राप्त गर्नुभएको छ ।