२० चैत्र २०७९, सोमबार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोहोरो पासपोर्ट लिएको विषयमा मुद्दा नचलाउने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
युवराज पौडेल (सफल)ले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेकोमा महान्यायाधिवक्ता कार्यालयलाई विपक्षी बनाइ रिट दायर गरेका हुन्। सर्वोच्च प्रशासनले उनको रिट निवेदन सोमबार दर्ता गर्दै चैत २१ गते मंगलबारका लागि पेशी तोकेको छ।
महान्यायाधिवक्ता दिनमणि पोखरेलले मुद्दा नचलाउने निर्णय गरेसँगै पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेले दोहोरो राहदानी लिएको भन्ने आरोपबाट क्लिनचिट पाएका थिए।
उनीविरूद्धको आरोप पुष्टि हुन नसक्ने निष्कर्षसहित प्रहरीले प्रतिवेदन बुझाएको थियो।
कुनै पनि फौजदारी कसुरमा प्रहरीले अनुसन्धान गरी पेस गरेको प्रतिवेदनमाथि जिल्ला सरकारी वकिलको कार्यालयले निर्णय गर्नुपर्ने हुन्छ। त्यसअनुसार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले गरेको निर्णय उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ता कार्यालय पुगेको थियो ।
अमेरिकी राहदानी हुँदा हुँदै नेपाली नागरिकता प्रयोग गरी राहदानी बनाएको पुष्टि भएपछि राहदानी ऐन अन्तर्गत कारबाही हुनसक्ने अवस्था बनेको थियो। सर्वोच्च अदालतले गत माघ ३ मा उनको नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै सो नागरिकता प्रयोगबाट प्राप्त सबै पद गुम्ने फैसला गरेको थियो।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट