मन्त्रिपरिषद् विस्तार मंगलबारसम्म लम्बिने देखिएको छ । सत्ता गठबन्धन सम्बद्ध दलहरु मन्त्रालय भागबण्डाको अन्तिम टुंगो लाग्नुअघि आन्तरिक छलफलमा जुटेपछि मंगलबारसम्म मन्त्रिपरिषद् बिस्तार नहुने निश्चित देखिन्छ ।
कांग्रेसले मन्त्री छनोटबारे छलफल गर्न मंगलबार विहान ९ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । नेताहरुका अनुसार बैठकले मन्त्री छनोटको अधिकार सभापति शेरबहादुर देउवाले दिनेछ । यता सत्तासीन माओवादी केन्द्र पनि आन्तरिक छलफलमा छ ।
प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीभित्र मन्त्रीको जिम्मेवारी हेरफेर संवाद गरिरहेका छन् । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र संघीय मामिला तथा स्थानीय मन्त्री अमनलाल मोदीको जिम्मेवारी हेरफेर हुनसक्ने माओवादी वृत्तमा चर्चा छ । मन्त्रालय भागबण्डाको प्रस्ताव तयार पार्न प्रधानमन्त्री प्रचण्डले गठबन्धन सम्बद्ध दलका नेतासँग वान टू वान छलफल गरेका छन् ।
माओवादी केन्द्रसहित, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी सरकारमा जाने तयार छन् ।
प्रधानमन्त्री प्रचण्डले ती दलहरूसँग कति मन्त्रालय र कुन–कुन मन्त्रालय दिने भन्ने विषयमा छुट्टाछुट्टै छलफल गरेका छन् । त्यही छलफलको आधारमा प्रधानमन्त्रीले आफ्नो प्रस्ताव पेस गर्नेछन् । तर नेकपा एकीकृत समाजवादी र जसपा र लोसपाले स्वभाविक दाबी गरेपछि गठबन्धन बैठक प्रभाविकत भएको प्र्रधानमन्त्रीको सचिवालय बताउँछ ।