नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनका लागि प्रतिनिधिसभा सदस्यहरूका लागि ह्वीप लगाएको छ ।
कांग्रेस संसदीय दलको आइतबार बसेको निर्णयअनुसार सांसदहरूलाई दाहाललाई विश्वासको मत दिनका लागि ह्वीप लगाएको हो ।
संघीय संसद भवनस्थित ल्होत्से हलमा बसेको बैठकले सांसदहरूलाई प्रधानमन्त्रीको पक्षमा विश्वासको मत दिन ह्वीप लगाउने र सरकारमा सहभागी हुने निर्णय गरेको हो । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नेपालको संविधानको धारा १०० को (२) बमोजिम नेपाली कांग्रेस प्रधानमन्त्रीले प्रस्तुत गर्ने विश्वासको मतको प्रस्तावको पक्षमा उभिने निर्णय भएको जानकारी दिए ।
’संसदीय दलको बैठकले राष्ट्रपतिमा निर्वाचित सम्माननीय रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा निर्वाचित सम्माननीय रामसहायप्रसाद यादवलाई बधाई ज्ञापन गर्ने निर्णय गरेको छ । उहाँहरूको कार्यकालको सफल शुभकामना दिने निर्णय गरेको छ । सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोग, सुरक्षा निकाय र सञ्चारमाध्यमहरूलाई धन्यवाद दिने निर्णय गरेको छ,’ उनले भने, ’कार्यसम्पादन समितिको निर्णयलाई मध्यनजर गरी नेपालको संविधानको धारा १०० को (२) बमोजिम सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालजीले भोलि विश्वासको मतका लागि प्रतिनिधिसभामा प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । नेपाली कांग्रेस प्रधानमन्त्रीले प्रस्तुत गर्नुहुने विश्वासको मतको प्रस्तावको पक्षमा रहेको छ । प्रधानमन्त्रीको पक्षमा मतदान गर्नेछ । तदनुरुप कांग्रेस संसदीय दलका सांसदहरूलाई निर्देशन दिन्छ । त्यसपछि मात्रै प्रधानमन्त्रीको दाहालको नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । सरकारमा हामी सहभागी हुन्छौँ ।’
कांग्रेस संसदीय दलको बैठकले नेपाली राष्ट्रिय क्रिकेट टिमले पाएको सफलतालाई मध्यनजर गरी धन्यवाद ज्ञापन गरेको छ ।