नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधीहरुले बहिष्कार गरे पछि इटहरी उपमहानगरपालिकाको १२ औं नगरसभा हिजो साँझ अनिश्चितकालको लागि स्थगित भएको छ ।
एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले नगरसभामा उपस्थित हुन हाजिर गरिसके पछि पार्टिको हृवीप आएको भन्दै आकस्मिक रुपमा नगरसभा बहिस्कार गरेका थिए । सभा सुरु हुनै लाग्दा एमाले सुनसरीका जिल्ला तथा केन्द्रीयस्तरका नेताहरुले फोन गरे पछि बैठक अवरुद्ध हुन पुगेको थियो ।
लगतै सभाध्यक्ष एवं नगरप्रमुख हेमकर्ण पौडेलले बैठक अनिश्चितकालको लागि स्थगित गरेको घोषणा गरे । नगरसभामा विभिन्न ५ विधेयक पारित गर्ने कार्यसूची थियो । तीमध्ये कर्मचारीले मासिक रुपमा पाउँदै आएको कर्मचारीको खाजा भत्ता तथा इन्धन सुविधा कटौती गर्ने सम्बन्धी विधेयक पारित गर्ने कार्यसूचीलाई लिएर नगरसभा बहिष्कार गरेको निकट स्रोतको दाबी छ ।
प्रशासनिक खर्च घटाउनका लागि उपमहानगरपालिकाले कर्मचारीले पाउँदै आएको मासिक पाँच हजार रुपैयाँ खाजा भत्ता र १५ लिटर इन्धन सुविधा कटौतीको निर्णय गत २६ फागुनमा बसेको कार्यपालिकाको १२८ औ बैठकले निर्णय गरेको थियो । उपमहानगरपालिकामा ४ सय ७० कर्मचारी छन् । ती कर्मचारीका लागि खाजा भत्तामा वार्षिक करिब २ करोड ८२ लाख रुपैयाँ खर्च हुँदै आएको छ ।
इन्धन सुविधा कटौती गर्दा वर्षको १ करोड ७ लाख रुपैयाँ जोगिने हुनाले सुविधा कटौटी गर्ने निर्णय भएको थियो । उपमहानगरमा कार्यरत अधिकांस कर्मचारी एमाले निकट रहेकाले नगरसभा बहिष्कार गर्न पार्टी नेतृत्वबाट दबाब आएको एक जनप्रतिनिधिले बताए । दिउँसो १ बजेका लागि निर्धारित नगरसभा एमालेका जनप्रतिनिधिसँग सहमतीका लागि भन्दै छलफल लम्बिए पछि साँझ ७ बजे अनिश्चितकालको लागि स्थगन भएको घोषणा भएको थियो ।