नेपाल प्रहरीमा फेरि पनि डिआइजीबाटै आइजिपी हुने अवस्था सिर्जना भएको छ । एआइजीका चार दरबन्दी रिक्त भएपनि गृह मन्त्रालयले बढुवा रोकेर आकांक्षीलाई प्रदेशको इन्चार्जमा खटाएपछि यस्तो अवस्था आएको हो ।अहिलेकै कानुनी प्रावधानअनुसार आगामी १० चैतमा प्रहरीको नेतृत्व परिवर्तन हुनेछ । भर्खर प्रदेश पठाइएका डिआइजीहरूको तत्कालै बढुवाको सम्भावना छैन । अर्कोतर्फ आइजिपी नियुक्तिको मुखमा एआइजी नियुक्ति गर्दा अत्याधिक दबाब आउन सक्ने भएकाले २० प्रतिस्पर्धीबाट छानेर पाँच एआइजी बढुवा गर्न पनि सरकारलाई सकस छ । यस्तो अवस्थामा डिआइजीबाट सिधैं आइजिपी बढुवा हुने सम्भावना देखिएको प्रहरी अधिकारी बताउँछन् ।यसरी सिधैं आइजिपी बढुवा भए अहिलेको वरियतामा अगाडि रहेका अधिकारीहरूलाई फाइदा हुने छ । अहिले बसन्त कुँवर पहिलो नम्बरमा, टेकप्रसाद राई दोस्रो र अशोक सिंह तेस्रो नम्बरमा छन् ।