३१ असार २०७९, शुक्रबार

महालेखा परीक्षकको कार्यालयले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको वार्षिक प्रतिवेदनमा ६ महानगरमा सबैभन्दा कम बेरुजु भरतपुरको रहेको उल्लेख छ ।
आर्थिक वर्ष २०७७÷७८ को प्रतिवेदनमा सबैभन्दा बढी बेरुजु भने प्रदेश १ को राजधानी विराटनगरको देखिएको छ ।
उक्त कार्यालयले प्रकाशित गरेको प्रतिवेदनमा बेरुजु प्रतिशत विराटनगरको १६ दशमलव ५७ प्रतिशत छ भने भरतपुरको ० दशमलव ५६ प्रतिशत छ । त्यस्तै वीरगञ्जको नौ दशमलव ८० प्रतिशत, ललितपुरको आठ दशमलव ०६ प्रतिशत, काठमाडौंको पाँच दशमलव ४० प्रतिशत र पोखराको पाँच दशमलव ३५ प्रतिशत रहेको छ । छ महानगरको समग्रमा बेरुजु छ दशमलव १३ प्रतिशत हुन आउँछ ।
पेश्की बाहेक बेरुजुको प्रतिशत विराटनगरको १५ दशमलव १३ प्रतिशत, वीरगञ्जको नौ दशमलव ६३ प्रतिशत, ललितपुरको चार दशमलव ०३ प्रतिशत, काठमाडौँको चार दशमलव ६४ प्रतिशत, पोखराको पाँच दशमलव १७ प्रतिशत र भरतपुरको ० दशमलव २५ प्रतिशत रहेको छ ।
भरतपुर महानगरपालिकाका लेखा प्रमुख जगन्नाथ अर्यालले बेरुजु तत्काल फर्छ्यौट गर्ने परिपाटीको विकासका कारण बेरुजु कम भएको बताए ।
ऐन, नियम र मापदण्डको पूर्णपालना गरिएको, उपभोक्ता समितिलाई पेश्की दिने कार्यमा कडाइ गरिएको र बेरुजु फर्छ्योटमा विशेष जोड दिएकै कारण अन्य महानगरपालिका भन्दा भरतपुरको बेरुजु निकै कम भएको उनको भनाइ थियो ।
देशका छ महानगरमा सङ्घ र प्रदेशको समेत धेरै बजेट ल्याएर भौतिक पूर्वाधारसहितका विकासका काम गर्ने महानगरमा भरतपुर अग्रणी छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट