२७ बैशाख २०७९, मंगलवार

स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेपछि मौन अवधि लागू हुँदै छ ।
निर्वाचन आयोगले पालिकाका प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष, वडाध्यक्ष र सदस्य चुन्न मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो । मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ ।

निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको हो । मौन अवधिभर दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेला÷गोष्ठी आयोजना गर्न नपाउने आयोगको आचारण निर्देशिकामा उल्लेख छ । निर्देशिकाविपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेदवारी रद्ददेखि १ लाख रुपैयाँ जरिवानासम्मको कारबाही हुन सक्ने निर्वाचनसम्बन्धी कानुनमा उल्लेख छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आचारसंहिता र मापदण्ड उल्लंघन गर्ने व्यक्ति वा संस्थालाई कारबाहीको दायरामा ल्याइने बताए । मौन अवधिका लागि जारी गरिएका निर्देशन पालना भए÷नभएको निगरानी, नियमन र अनुगमन गर्न र आवश्यक परे उल्लंघनकर्तामाथि कारबाही गर्न सबै प्रमुख जिल्ला अधिकारीलाई विशेष परिपत्रमार्फत अधिकार प्रत्यायोजन गरिएको पनि उनले जानकारी दिए । ‘मौन अवधिमा गर्न हुने र नहुने के–के हुन् भन्ने सबैलाई स्पष्टै छ । हामीले मौन अवधिमा पालना गर्नुपर्ने आचारसंहिता सार्वजनिक गरिसकेका छौं,’ प्रमुख आयुक्त थपलियाले भने, ‘एक सचिव र डेढ दर्जन सहसचिवको नेतृत्वमा छुट्टाछुट्टै संयन्त्रलाई मौन अवधिका गतिविधि अनुगमन र निगरानी तथा उल्लंघन भए ठाउँको ठाउँ कारबाहीको दायरामा ल्याउने गरी विभिन्न जिल्लामा परिचालन गरेका छौं ।’

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट