२७ बैशाख २०७९, मंगलवार

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन लोकतन्त्र र संघीय शासन प्रणालीको आधारस्तम्भ भएको बताएका छन् । आज मतदातालाई अपिल जारी गर्दै देउवाले स्थानीय तह हरेक नागरिकका सुख दुःखमा साथ दिने र आफ्नै घर आँगनमा सरकारको अनुभूति गराउने राज्य संयन्त्र भएको पनि बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने स्थानीय तह निर्वाचनमा निर्भिकताका साथ सहभागी भई मतदान गर्न पनि देउवाले मंगलबार विज्ञप्तिमार्फत आह्वान गरेका छन् । उनले स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणका लागि सुसंस्कारयुक्त राजनीतिक बागडोरको जिम्मा लगाउने अधिकार नागरिकको हातमा आएको बताए ।

स्थानीय तहलाई कानूनतः सबल र समृद्ध बनाउने प्रतिवद्धता पूरा गर्न काँग्रेस कसैसँग सम्झौता नगर्ने देउवाले बताए । तर नीति निर्माण र कानून बनाउने थलो संसदलाई बन्धक बनाएर राख्ने अराजनीतिक र अलोकतान्त्रिक क्रियाकलाप नै यसका बाधक भएको देउवाले बताए ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट