विराटनगर महानगरका अधिकांश सामुदायिक विद्यालयले विद्यार्थी अभावमा घरदैलो कार्यक्रम सुरु गरेका छन् ।
तर यहीको पोखरीया माध्यमिक विद्यालयलाई निजी छाडेर स्वतः स्फूर्त भर्ना हुन आएका विद्यार्थीर्को भीड थेग्न सकस परेको छ । नौ वर्षदेखि नर्सरीदेखि कक्षा १० सम्म अंग्रेजी माध्यमबाट पढाइ गर्दै उत्कृष्ट नतिजा दिँदै आएको यो विद्यालयले भर्ना लिन शुक्रबार एक सय पूर्णांकको प्रवेश परीक्षा नै लियो । विद्यालयले नयाँ शैक्षिक सत्रका लागि कक्षा ६ देखि कक्षा ९ सम्म ३ सय ६५ विद्यार्थी भर्ना लिने तयारी गरेको छ । त्यसका लागि निजी विद्यालय छाडेर आएका १ हजार ४ सय ७० बालबालिकाले छनोटमा पर्नलाई परीक्षा दिएका छन् । तीमध्ये १ हजार १ सय ५ जनाले भर्ना पाउने स्थिति नभएको विद्यालयका प्राचार्य खेमराज भट्टराईले बताए ।
प्रवेश परीक्षा दिने सबैलाई विद्यालयको भौतिक पूर्वाधार र जनशक्तिका आधारमा भर्ना लिन सम्भव छैन । विद्यालय प्रशासनका अनुसार आवश्यकताअनुसार प्रवेश परीक्षा उत्तीर्ण नभएका विद्यार्थीको भर्नाका लागि मन्त्री, दलका नेता र जनप्रतिनिधिको दबाब थेगी नसक्नु हुन्छ । त्यसैले रिजल्ट टाँसेर एक सातासम्म शिक्षकहरू मोबाइल स्विच अफ गरेर बस्न बाध्य हुन्छन् । प्राचार्य भट्टराईका अनुसार कक्षा ९ मा ६५ नयाँ विद्यार्थी भर्ना कोटामा २ सय ८४ जनाले प्रवेश परीक्षा दिएका छन् । कक्षा ८ को सय कोटामा ५ सय १, कक्षा सातको सय जनाको कोटामा ३ सय ७८ र कक्षा ६ को सय कोटामा ३ सय ७ जनाले प्रवेश परीक्षा दिएका छन् । विराटनगर–३ को इडेन बोर्डिङबाट कक्षा ७ उत्तीर्ण गरेकी छोरी विपना कट्टेललाई कक्षा ८ मा भर्नाकाल लागि अभिभावक उमाकान्तले प्रवेश परीक्षा दिलाएका छन् । इडेनमा कक्षा ८ पढाउँदा वार्षिक कम्तीमा ७५ हजार रुपैयाँसम्म शुल्क तिर्नुपर्ने हुन्छ । पोखरीयामा वार्षिक १२ हजार रुपैयाँ शैक्षिक सहयोग शुल्क तिर्दा पुग्ने भएकाले छोरीलाई यहाँ पढाउन ल्याएको उमाकान्तले बताए ।