गृहमन्त्री बालकृष्ण खाँणले केन्द्र, प्रदेश र जिल्लाका सुरक्षा समितिका पदाधिकारी र सदस्यलाई निर्वाचन स्वच्छ निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कुनै कसुर बाँकी नराख्न निर्देशन दिएका छन् ।
शनिबार आफ्नो अध्यक्षतामा आयोजित ‘स्थानीय तह निर्वाचन सम्बन्धमा’ सुरक्षा गोष्ठीमा गृहमन्त्री खाँणले निर्वाचन सम्पन्न हुने बेलासम्म देखिने सबै प्रकारका चुनौती उपलब्ध स्रोत र साधन उपयोग गरेर सामना गर्न तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । त्यस्तै उनले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई आगामी दिनमा सुरक्षा निकायमा भर्ना हुँदा प्राथमिकतामा राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिए । ‘निर्वाचनका लागि सरकारले एक लाख म्यादी प्रहरी भर्ना गरेको छ । उनीहरू निर्वाचनमा सुरक्षा दिँदा नयाँ भन्दा अनुभव प्राप्त हुन्छन्’, गृहमन्त्री खाँणले भने, ‘आगामी दिनमा सुरक्षा निकायले नयाँ भर्ना लिँदा मापदण्डअनुरुप भएका भएमा उनीहरूलाई प्राथमिकतामा राख्नुहोला ।’ गृह मन्त्रालयमा भएको गोष्ठीमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल, तथा गृह मन्त्रालयका सहसचिवहरू फणिन्द्रमणि पोखरेल, टेकबहादुर केसी, प्रदीप कोइराला भौतिकरूपमा सहभागी थिए ।