मोरङको सुन्दरहरैंचा नगरपालिका ४ बलियामा ३० वर्षीया महिलालाई अपहरण शैलीमा होटलमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
स्थानीय श्रेष्ठ होटल एन्ड फेमिली लज सञ्चालक ३६ वर्षीय अर्जुन श्रेष्ठलाई पक्राउ गरेर यस विषयमा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी मोरङका प्रवक्ता डीएसपी मञ्जिल मुकारुङले बताए । उनका अनुसार घटनामा संलग्न स्थानीय २७ वर्षीय मनोज श्रेष्ठ र झापा घर भएका रामबहादुर नेपाली फरार रहेकाले खोजी भइरहेको छ । खोटाङबाट बेलबारी बसाइ सरेर आएका उनी इटहरीमा काम गरेर शुक्रबार साँझ सुन्दरहरैंचाको गछियास्थित बहिनीको घर जाने क्रममा बाटो बिराएको मुकारुङले बताए । ‘बाटो बिराएपछि नेपालीले बहिनीको घरसम्म पु¥याइदिने भन्दै प्रदेश २–०१–००१ च २२७ नम्बरको गाडीमा चढाएर उक्त होटलमा लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ उनले भने, ‘होटलमा महिलालाई कुटपिट गर्दै बेहोस पारेर सामूहिक बलात्कार गरेको छ ।’
शनिबार बिहान महिलाले बहिनीलाई खबर गरिन् । उनकी बहिनी होटल पुगेपछि शरीरमा रगत देखिएकाले तत्काल कोशी अस्पताल विराटनगरमा ल्याएर उपचार गराइरहेकी छन् । उनीसँगै आएका होटल सञ्चालक श्रेष्ठलाई प्रहरीले अस्पतालबाटै नियन्त्रणमा लिएको छ ।
पीडितले उजुरी दिएपछि पक्राउ परेको श्रेष्ठलाई जिल्ला अदालतबाट म्याद थप गरेर कारबाही प्रक्रिया अघि बढाइने डीएसपी मुकारुङले बताए ।