३ माघ २०७८, सोमबार

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विवादित पदाधिकारीले कामकाज गर्न नपाउने भएका छन् । सरकारले उपकुलपति लगायतका पदाधिकारीको कामकाजमा पूर्ण रुपमा रोक लगाउँदै पाँच सदस्यीय नयाँ टोली पठाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्यामसुन्दर यादवको नेतृत्वमा पाँच सदस्यीय टोली पठाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री कार्यालयका अनुसार डा यादवसहितको टोलीले आज सोमबार पत्र पाउने छन् । डा यादवसहितको टोलीलाई आर्थिक तथा प्रशासनिक अधिकार दिएर प्रतिष्ठानमा पठाउने निर्णय भएको हो ।
प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा गुरुप्रसाद खनाल, अस्पताल निर्देशक डा गौरीशंकर शाह र रजिष्ट्रार (विवाद आएपछि केही समयअघि राजीनामा दिएका) डा मोहनचन्द्र रेग्मीले अख्तियारको दुरुपयोग गरेको, आचरण विपरीत काम गरेको, आर्थिक अनियमिता गरेको छानबिन समितिले देखाएपछि सरकारले उनीहरुलाई हटाउने प्रक्रिया अगाडि बढाएको हो ।
प्रतिष्ठानको अनियमितताको विषयमा विभिन्न छानबिन समिति बनेका छन् । सबै समितिले पदाधिकारीले अनियमितता गरेको प्रतिवेदन बुझाएका छन् ।
पछिल्लो पटक प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको संयोजकत्वमा गठित समितिले प्रतिष्ठानका कुलपति प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा पनि पदाधिकारीले आर्थिक अनियमितता गरेको उल्लेख छ । प्रतिवेदनमा पदाधिकारीलाई कारबाही सिफारिस समेत गरिएको छ ।
सोही प्रतिवेदन कार्यान्वयनमा लैजाने प्रक्रिया अन्तर्गत सरकारले पदाधिकारीको सबै अधिकार खोसेको हो ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट