३ माघ २०७८, सोमबार

नेपालमा कोरोना भाइरसविरुद्धको खोपको तुलनामा त्यसलाई लगाउन आवश्यक पर्ने सिरिन्जको मौज्दात निकै कम रहेको पाइएको छ ।
स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार नेपाल सरकारसँग हाल देशका विभिन्न स्थानमा गरेर ९५ लाख ५७ हजार ६४४ डोज कोभिडविरुद्धको खोप भण्डारणमा रहेका छन् ।
तर खोपभन्दा निकै कम जम्मा २५ लाख ५९ हजार २०० वटा सिरिन्ज (शून्य दशमलब ५ एमएलका) मात्र देशभरमा मौज्दात रहेको छ। कोभिडविरुद्धको फाइजर खोप लगाउन शून्य दशमलब ३ र अन्य खोपका लागि शून्य दशमलब ५ एमएलका सिरिन्ज आवश्यक पर्छ।
सरकारले खोप अभियान चलाइरहेको समयमा अबको केही दिनमा नेपालमा बाहिरबाट सिरिन्ज नआउने हो भने कोभिड खोप लगाउन सिरिन्जको अभाव हुने देखिएको छ ।
तर, स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक डा रुद्र मरासिनीले भने सिरिन्जको अभावको अवस्था आउन नदिन थप सिरिन्ज ल्याउने लागिएको बताए ।
उनका अनुसार अबको एक साताभित्र ७३ लाखभन्दा बढी सिरिन्ज नेपाल आइपुग्ने छ। चीनबाट १० लाख वटा सिरिन्ज मंगलबारसम्म रसुवा नाकामा आइपुग्ने डा मरासिनीको भनाइ छ। यस्तै यूनिसेफबाट प्राप्त हुने १२ लाख ९६ हजार वटा सिरिन्ज कलकत्तामा आइसकेको डा मरासिनीले जानकारी दिए ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट