९ कार्तिक २०७८, मंगलवार

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिए आफू पनि तयार रहेको बताएका छन् । आज १५ न्यायाधीशसँगको भेटमा प्रधानन्यायाधीश जबराले यस्तो बताएका हुन्।
‘सडकका आवाजका भरमा म राजीनामा दिन्नँ‚’ न्यायाधीशहरूलाई प्रधानन्यायाधीशले भने, ‘यहाँ विवाद र प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिए म पनि तयार छु ।’
उनले आफू संवैधानिक बाटोबाट आएकाले व्यवस्थाअनुसार नै कायम रहने स्पष्ट पारे । छलफलमा न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए । प्रधानन्यायाधीशसँगको भेटपछि न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेका छन ्।
न्यायालयमा बेथिति बढेको‚ सत्ता गठबन्धनमा प्रधानन्यायाधीश जबराले भाग खोजेको लगायतका विषयमा असन्तुष्टि जनाएका १५ न्यायाधीशले सोमबार प्रधानन्यायाधीश जबराले बोलाएको पूर्ण बैठक बहिष्कार गरेर छुट्टै बैठकमा बसेका थिए ।
सोमबार प्रधानन्यायाधीश जबराले तोकेको इजलास पनि बहिष्कार गरेका न्यायाधीशहरूले जबरालाई भेटेर आफ्ना कुरा राख्ने र प्रधानन्यायाधीशले समाधान नगरे थप कडा कदम चाल्ने बताइएको छ। सोमबार प्रधानन्यायाधीशले १५ जना न्यायाधीशका लागि ६ वटा संयुक्त र एउटा एकल इजलास तोकेको थिए । तर, ती कुनै पनि इजलास बस्न सकेको थिएन ।
सत्ता गठबन्धनमा भाग खोजेको भन्दै चर्को आलोचना खेप्दै आएका प्रधानन्यायाधीश जबरामाथि राजीनामाको दबाब बढेको छ। पूर्व न्यायाधीश फोरम, चार पूर्व प्रधानन्यायाधीश, सर्वोच्च बार एसोसिएसन लगायतले जबराको राजीनामा नै अन्तिम विकल्प भएको बताएका छन ्।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट