२५ आश्विन २०७८, सोमबार

रूपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा सुरक्षाकर्मीले चलाएको गोली लागेर मृत्यु भएका चार जनामध्ये तीन जना गैरसुकुम्बासी रहेका पाइएको छ ।

गोली लागेर गम्भीर भई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएका तीन जना गैरसुकुम्बासी रहेको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।

मृत्यु हुनेहरूमा शुद्धोधन गाउँपालिका- ५ रूपन्देहीका ३८ वर्षीय वीरेन्द्रप्रसाद कुर्मी, पूर्वी नवलपरासीका १८ वर्षीय युजल कुमाल र बाणगंगा नगरपालिका कपिलवस्तुका २० वर्षीय रमेश परियारको सनाखत भएको छ । अर्का एक जनाको सनाखत हुन नसकेको प्रजिअ तिवारीले बताए । उनीहरूको शव भीम अस्पतालमा राखिएको छ ।

आइतबारको झडपमा परी ३१ जना सुरक्षाकर्मीसहित ७४ जना घाइते भएका थिए । प्रमुख जिल्ला अधिकारी तिवारीले नेपाल प्रहरीका १६ र सशस्त्र प्रहरीका १५ जना गरी ३१ जना घाइते भएको जानकारी दिए ।

आइतबार अपराह्न प्रहरीलाई लक्षित गरी प्रदर्शनकारीले ढुंगामुढासँगै पेट्रोल बम प्रहार गरेपछि गोली चलाउनुपरेको प्रजिअ तिवारीले बताए । प्रजिअ तिवारीले सार्वजनिक सम्पत्तिको रक्षा गर्न खटिएका प्रहरीमाथि ढुंगामुढासँगै पेट्रोल बम प्रहार गरेपछि प्रहरीले आफ्नो ज्यान जोगाउन गोली चलाउनुपरेको बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट