मंगलबार बसेको प्रतिनिधिसभा बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको अवरोधबीच अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयक–२०७८ प्रस्ताव पारित भए पनि संशोधित बजेट पास गर्ने काम भने अल्झिएको छ ।
संसद सुचारु हुँदा ६० दिनभित्र बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसदबाट पारित गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्थाअनुसार मध्यरातमा समयावधि सकियो । संसद बैठक नै असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । जसका कारण चालू आवका लागि विनियोजित बजेट निष्क्रिय भएको हो ।
मुलुकको इतिहासमै पहिलोपटक ‘बजेट होलिडे’ भएको छ । यसअघिसम्म नेपालमा यस्तो बजेट होलिडे भएको थिएन । सरकारले राजस्व भने उठाउन पाउने छ । सरकारलाई एकदमै समस्या परे सरकारी कार्यालयहरूले सापटी र धरौटीमार्फत आकस्मिक खर्च गर्न सक्छन् । अब सरकारलाई कोभिड–१९ महामारी उपचारमा भइरहेका प्रयासमा केही दिन खर्च गर्ने काममा बाधा पर्न सक्नेछ ।