११ श्रावण २०७८, सोमबार

एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पार्टीमा फर्किनेमा आफूलाई कम विश्वास रहेको बताएका छन् । पार्टीनिकट महिला संगठनले आइतबार गरेको भर्चुअल अन्तर्क्रिरयामा उनले नेपालले शक्ति बाँडफाँटमा दोहोरो चरित्र देखाएको आरोप लगाए ।
‘गल्ती कमजोरी गर्नेलाई पार्टीले माफी दिने हो, मैले होइन तर यसैलाई लिएर एक जनाले महाराजाले माफी दिने रे भनेर खिल्ली उडाए,’ ओलीले भने, ‘अपराध गर्नेले पार्टीमा आएर गल्ती भयो भन्न नसक्ने, उल्टै पार्टीले माफी दिन्छ भन्दा मलाई क्षमा दिने को हो भनेर अहंकार र दम्भ देखाए । पार्टीलाई कमजोर पार्ने र अपराध कर्मको नेतृत्व गरिरहेका व्यक्तिबाट मैले धेरै आशा र विश्वास गरेको छैन ।’
अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच आरोप–प्रत्यारोप चलिरहँदा दुवै पक्षका सांसदले दबाब अभियान सुरु गरेका छन् । विघटित कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव तत्काल कार्यान्वयन गरी पार्टीलाई एकताबद्ध बनाउनुपर्ने उनीहरूको माग छ । अभियानको अगुवाइ गरेका सांसद कृष्णप्रसाद दाहालले एकताको माहोल बनाउन दबाब अभियान सुरु गरिएको बताए । एकता अभियानमा रहेका सांसदले आइतबार कार्यदलका संयोजक र सदस्यसँग छलफल गरी दसबुँदे कार्यान्वयनको नेतृत्व लिन आग्रह गरेका छन् ।

तपाईंको प्रतिकृयाहरू