२४ बैशाख २०७८, शुक्रबार

नेकपा एमालेका केन्द्रीय सदस्य रामबहादुर थापा ‘बादल’ ले वाग्मती प्रदेशमा राष्ट्रियसभामा रिक्त एक सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौंडामा आज उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
थापाको उम्मेदवारीका प्रस्तावकमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत छन् ।
गृहमन्त्री थापा आज आफ्नो मनोनयनपत्र दर्ता गर्न हेलिकोप्टरबाट हेटौंडा पुग्नुभएको थियो ।
सो पदमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत दलका समर्थनमा डा. खिमलाल देवकोटाले पनि उम्मेदवारीको मनोनयनपत्र दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौँडाले जनाएको छ ।
सङ्घीयताविद् डा. देवकोटाका प्रस्तावकमा माओवादी केन्द्र, वाग्मती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल र समर्थकमा कांग्रेस वाग्मती प्रदेशका प्रमुख सचेतक राधा घले छन् । वाग्मती प्रदेशसभामा ६६ निर्वाचन क्षेत्रका ११९ स्थानीय तहका प्रमुख उपप्रमुख २३८ र वाग्मती प्रदेशसभा सदस्य ११० जना गरी कूल ३४८ मतदाता रहेको प्रदेश निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बतएका छन् । उनका अनुसार आगामी जेठ ६ गते हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी मावि भवनमा दुई मतदान केन्द्र रहने गरी व्यवस्थापन मिलाइएको छ ।
राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीले पनि छुट्टै उम्मेदवारी दिएको छ । नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङको प्रस्तावकमा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं र समर्थकमा सिर्जना सैंजु रहेका छन्

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट