२३ बैशाख २०७८, बिहीबार

सुनसरीका तीन अक्सिजन प्लान्टमा प्रहरीले पहरा दिन थालेको छ । कोरोनाको महामारी बढ्दै जाँदा गम्भीर बिरामीको संख्या पनि बढ्ने र अक्सिजन चाहिने भएकाले अनावश्यक दु्रुपयोग रोक्न चारदिनबाट अक्सिजन प्लान्टहरुमा प्रशासनले प्रहरी खटाएको हो ।
स्वास्थ्य क्षेत्रमा मात्र अक्सिजन प्रयोग गर्न निर्दशन जारी गर्दै जिल्लाका ती अक्सिजन प्लान्टमा प्रहरी खटाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । जिल्ला प्रशासनले इटहरी उपमहानगरस्थित खनारको दुर्गा अक्सिजन प्लान्ट, दुहबी नगरपालिकाको सोनापुरस्थित विनायक अक्सिजन प्लान्ट र सोही नगरपालिकाको पाथिभरा अक्सिजन प्लान्टमा रातदिन पहरा दिन प्रहरी खटाइएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।
कोरोना महामारीको बेला अक्सिजनको अभाव हुन सक्छ । भारतको दिल्ली जस्तो महानगरको अवस्था हामीले देख्यौं । यहाँ पनि त्यस्तो नहोस् भनेर पहिलेदेखि नै आक्सिजन प्लान्टमै प्रहरी खटाइएको हो ।’ ढकालको भनाई छ ।
उनअनुसार पूर्वका अस्पतालहरुमा हालसम्म अक्सिजनको अभाव नदेखिएपनि यहीदरमा संक्रमण फैलदै गएमा अभाव हुन सक्ने भएकाले स्वास्थ्य क्षेत्रबाहेक अन्य उद्योगलाई अक्सिजन नदिन निर्देशन जारी गरेको हो । सुनसरीमा रहेका तीन अक्सिजन प्लान्टले स्वास्थ्य क्षेत्र भन्दा बाहिरका अन्य उद्योगलाई अक्जिसन बिक्री गर्न सक्ने भएकाले प्रत्येक प्लान्टमा प्रहरीलाई पहरा दिन खटाइएको हो ।
कतिपयले अक्सिजनको जोहो गर्न सिलिण्डरसहित घर लैजाने गरेकाले अभाव हुने आशंका गरिएको छ । सुनसरीको धरानमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको सहित सुनसरी र मोरङका अक्सिजन प्लान्टसँग ठूलासाना गरेर करिब १६ हजार सिलिण्डर रहेका छन् । ती प्लान्टहरुबाट दैनिक ५ हजार सिलिन्डरमा अक्सिजन भर्न सकिने अवस्था रहेको छ । प्रतिष्ठान बाहेकका सुनसरी र मोरङका अक्सिजन प्लान्टले जनकपुरदेखि पूर्वका विभिन्न अस्पताल र उद्योगहरुका लागि अक्सिजन उत्पादन र वितरण गर्दै आएका छन् ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट