३१ चैत्र २०७७, मंगलवार

नयाँ सत्ता समीकरणका विषयमा स्पष्ट धारणा बनाउन नसकिरहेको जनता समाजवादी पार्टी (जसपा) ले अहिले भने आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको कसरत अगाडि बढाएको छ ।
नयाँ सरकार गठनका विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफलमा सहभागी भइसकेको जसपाले अहिले भने आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने विषयमा छलफल अगाडि बढाएको छ । दुई दिनसम्म चलेको पदाधिकारी बैठकमा सबै नेताहरूले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन जोड दिएका हुन् । ‘सरकार गठनको विषयले पदाधिकारी बैठकमा औपचारिक प्रवेश पाइसकेको छ’, जसपा अध्यक्ष उपेन्द्र यादव भन्छन्, ‘हाम्रै नेतृत्वमा सरकार बनाउने कुरामा सबै नेताहरू सकारात्मक छौं, समय आएपछि औपचारिक निर्णय गर्छौं ।’ बैठकमा अध्यक्षद्वय महन्थ ठाकुर र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अशोक राई सहभागी थिए ।
जसपाको छलफल आफ्नै नेतृत्वमा सरकार गठन गर्नेतर्फ सहमतितर्फ अघि बढिरहेको भए पनि बाबुराम भट्टराई र महन्थ ठाकुरमध्ये कसलाई प्रधानमन्त्रीमा अघि सार्ने भन्ने चाहिँ टुंग्याएको छैन । जसपाको बैठक केन्द्रीय कार्यालयमा दुई दिनसम्म चलेर केही दिनका लागि स्थगित भएको छ । नयाँ वर्षको पर्वका कारण केही दिनका लागि बैठक स्थगित भएको हो ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट