११ आश्विन २०७७, आईतवार

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले एक वर्ष लगाएर विश्वविद्यालयहरुमा उपकुलपतिको भागबन्डा टुङ्ग्याएका छन् । गत असोजमै त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, पोखरा विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपतिहरूको पदावधि सकिएको थियो । ६ वटा विश्वविद्यालयमध्ये चारवटामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र दुईवटामा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उपकुलपति पाउने गरी यसअघि भएको सहमतिअनुसार तीनवटा विश्वविद्यालयमा उपकुलपति छनोट गरिएको हो ।
सत्ता र प्रतिपक्षी दलबीच सहमति हुन नसक्दा लामो समयसम्म विश्वविद्यालयमा उपकुलपतिसहित अन्य पदाधिकारी, सेवा आयोगका अध्यक्ष र सदस्यको पदपूर्ति हुन सकेको थिएन । सरकारले तीनवटा विश्वविद्यालयमा उपकुलपतिको टुंगो लगाएको छ । संस्कृत विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा नेकपानिकट र पोखरा विश्वविद्यालयमा काँग्रेसनिकटलाई नियुक्ति दिइने भएको छ ।
नेपाल संस्कृत विश्वविद्यालयमा यादवप्रकाश लामिछाने तथा कृषि र वन विश्वविद्यालय चितवनमा डा. पुण्य रेग्मीलाई उपकुलपति नियुक्त गरिने भएको छ । त्यस्तै, पोखरा विश्वविद्यालयमा भने प्रा.डा प्रेमनारायण अर्याललाई नियुक्त गरिने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवासँगको छलफल र समझदारीअनुसार नै पोखरा विश्वविद्यालयमा अर्याललाई नियुक्त गरिने भएको छ ।
लामो समयदेखि रिक्त ती विश्वविद्यालयमा शिक्षा मन्त्रालयले गत कात्तिक मै उपकुलपति नियुक्तिका लागि आवेदन मागेको थियो । आवेदन लिएको करिब एक वर्षपछि राजनीतिक सहमति जुटाएर ती विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्ने विषय टुंगो लागेको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट