९ आश्विन २०७७, शुक्रबार

भारत र पाकिस्तानबीचको द्वन्द्वका कारण निष्कृय जस्तै बन्न पुगेको दक्षिण एसियाली सहयोग संगठन (सार्क) मुलुकका परराष्ट्रमन्त्रीहरुको भर्जुअल बैठक हिजो सम्पन्न भएको छ ।
सार्कको वर्तमान अध्यक्ष नेपालको पहलमा आयोजना गरिएको थियो । बैठकको अध्यक्षता नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले गरेका थिए ।
हरेक वर्ष संयुक्त राष्ट्रसंघको महासभा बैठकको साइडलाइनमा सार्क मुलुकका परराष्ट्रमन्त्रीहरुबीच अनौपचारिक बैठक गर्ने परम्परा छ । यसपटक महासभाको बैठक नै भर्जुअल भएका कारण परराष्ट्रमन्त्रीहरुको साइडलाइन बैठक पनि भर्जुअल नै गरिएको छ । बैठकमा आठै देशका परराष्ट्र मन्त्रीहरुले सहभागिता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठकलाई सम्वोधन गदै मन्त्री ज्ञवालीले १९ औं सार्क सम्मेलन सकेसम्म छिटो गर्नका लागि सम्भावित सबै विकल्पहरु पहिल्याउनको सार्कका समकक्षीहरुलाई आग्रह गरेका थिए । ज्ञवालीले सार्कलाई नयाँ गति दिन आवश्यक रहेको बताए । उनले भने, ‘हामीले सार्कलाई नतिजामुखी र प्रभावकारी क्षेत्रिय संस्था बनाउन आवश्यक छ, जसले यस क्षेत्रमा जनताको जीवनमा स्पष्ट देखिने परिवर्तन ल्याउन सकोस् ।’ बैठकलाई सम्वोधन गर्दै भारतीय विदेशमन्त्री एस. जयशंकरले भारतको ‘छिमेक पहिलो’ नीतिलाई पुनः जोड दिएका थिए । उनले भने, ‘भारत कनेक्टेड, एकीकृत, सुरक्षित र समृद्ध दक्षिण एसिया निर्माणका लागि प्रतिवद्ध रहेको छ ।’ बिहीबारको भर्जुअल बैठकमा पनि भारतीय विदेशमन्त्री जयशंकरले पाकिस्तानप्रति लक्षित गर्दै सीमापार आतंकवाद, कनेक्टिभिटी परियोजनाहरु अबरुद्ध गर्ने प्रवृत्ति र ब्यापार अवरोध सार्कका मुख्य तीन चुनौती भएको र त्यसलाई पराजित गर्न आवश्यक रहेको बताएका थिए ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट