२७ भाद्र २०७७, शनिबार

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, कुन्डोलमा तीन जनाको शव भेटिएको घटनामा श्रीमती र छोराको सुतेकै ठाउँमा हत्या गरी ३६ वर्षीय सुदिप अधिकारीले आत्महत्या गरेको निष्कर्ष नजिक प्रहरी पुगेको छ ।
दुई जनाको सुतेकै अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या गरेर सुदिपले विष सेवन गरी आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुसन्धानले देखाएको हो ।
हिजो साँझ सवा ५ बजे अधिकारीका भाइ सुनिलले प्रहरीलाई खबर गरेपछि भक्तपुर प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको टोली अपराधस्थलमा पुगेको थियो । त्यसक्रममा सुदिपसहित उनकी श्रीमती ३४ वर्षीया सम्झना र १५ वर्षीय छोरा सुशान्तको शव भेटिएको थियो ।
प्रहरीले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका फरेन्सिक विज्ञसहितको टोलीलाई पनि छानविनका लागि अपराधस्थलमा बोलाएको थियो । त्यसक्रममा सम्झना र सुशान्तको मृत्यु केही दिन पहिले नै भएको पाइएको छ ।
‘पहिलो तलामा सुशान्त र दोस्रोमा सम्झनाको शव भेटिएको थियो, भित्तामा समेत रगतको छिर्का देखिएको थियो’, अनुसन्धानमा संलग्न एक अधिकृतल भने, ‘फरेन्सिक विज्ञसहितको टोलीबाट जाँचबुझ गर्दा दुवै जनाको टाउकोमा गहिरो चोट देखिएको थियो ।’
स्रोतका अनुसार घरमा रहेको दाउ जस्तो धारिलो हतियार प्रयोग गरेर आमा–छोराको हत्या भएको हुनसक्ने देखिएको छ ।
अनुसन्धान अधिकृतहरुका अनुसार दुवै जनाको शव सडेको अवस्थामा भेटिएको थियो । त्यसैले कम्तिमा दुई दिनअघि आमा–छोराको हत्या भएको हुनसक्ने देखिएको अधिकारीहरुको भनाइ छ । यद्यपि, यसबारे यकिन विवरण पोष्टमार्टम रिपोर्ट आएपछि मात्र प्राप्त हुने जनाइएको छ ।
अन्तिम तलामा ढोका छेउ मृत अवस्थामा भेटिएका सुदिपको शरीरमा भने कुनै बाहिरी चोट पटक छैन । उनले वान्ता गरेको संकेत देखिएको र शव पनि जस्ताको तस्तै रहेको अनुसन्धान अधिकृतहरु बताउँछन् ।
उनीहरुको घर बैंकले लिलाम गर्ने तयारी गरिरहेको आफन्तले जानकारी दिएका छन् । यस विषयमा पनि प्रहरीले बुझिरहेको बताएको छ ।
सुदीप घरको काम नगर्ने रक्सी खाने, तास खेल्ने र खाली बाहिरै हिंड्ने गरेको र त्यही कारण घरमा झगडा भइरहने गरेको स्थानीय र आफन्तले जानकारी दिएका छन् ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट