९ भाद्र २०७७, मंगलवार

मुख्यमन्त्रीहरु फेरिने चर्चा चलिरहँदा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री बदल्ने कुरा संविधानविपरीत भएको जिकिर गरेका छन् ।
केपी ओली सरकारविरुद्ध मोर्चाबन्दी गर्दै सक्रिय प्रचण्ड, माधवकुमार नेपालहरुको समुहको दबाबपछि मुख्यमन्त्रीहरु परिवर्तन गर्न लागिएको हल्ला चलेपछि मुख्यमन्त्री राईले पहिलो पटक यो विषयमा बोलेका छन् । ऋषि धमलाको जनता जान्न चाहन्छन् नामक कार्यक्रममा अन्तर्वार्ता दिँदै उनले प्रदेश सरकार विघटन हुने र नयाँ बन्ने सम्भावना नभएको बताए ।
‘निर्वाचित भएर प्रदेश सरकार बनेको हो,’ उनले भने, ‘कसैले फेर्ने भन्दैमा फेरिने होइन ।’
नेकपा पार्टी भित्रको विवाद समाधानको लागि बनाइएको कार्यदललेसमेत मुख्यमन्त्रीहरु फेर्न सिफारिस गरेको हल्ला बाहिरीएको छ । चर्चाअनुसार भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री बन्ने कुरा छ ।
मुख्यमन्त्री राईले क्याबिनेटका मन्त्रीहरु फेरबदल हुनसक्ने भएपनि मुख्यमन्त्री फेर्न संवैधानिक हिसाबले नमिल्ने बताए । उनले मुख्यमन्त्रीलाई केन्द्रले टिका लगाइदिएर आएको नभइ चुनिएर आएको बताउँदै मुख्यमन्त्री बदल्ने कुरा सही नभएको बताए । ‘भोलि कोही मुख्यमन्त्री बन्ने हो भने, हामी जसरी मुख्यमन्त्री भयौं, त्यही विधि अपनाउनुपर्छ,’ उनले भने ।
यद्यपी उनले पार्टीले आवश्यकता महसुस गरे र पार्टीलाई एकढिक्का बनाएर लानको लागि पद त्याग्न पनि तयार रहेको बताए ।
उनले प्रतिवेदनमा मुख्यमन्त्री परिवर्तन गर्ने भन्ने कुरा नभएको पनि बताए । कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाएको प्रतिवेदन सचिवालयमा जाने र स्थायी कमिटीमा गएपछिमात्रै सार्वजनिक हुने उनले जनाए ।
उनले अहिलेसम्म मुख्यमन्त्रीको रुपमा आफूले सकेसम्म राम्रो गरेको बताएका छन्

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट