१९ असार २०७७, शुक्रबार

नेपाल निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ ।
विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो बर्गीकरण अनुसार नेपाल पहिलो पटक निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको हो । नेपाल यसअघि निम्न आय भएको मुलुक थियो ।
प्रतिव्यक्ति आय १०३६ अमेरिकी डलरदेखि ४०४५ अमेरिकी डलरम्म आय भएका मुलुकलाई निम्नमध्यम आय भएका मुलुकको सूचीमा राख्छ । चालु वर्ष नेपालको प्रतिव्यक्ति आय १०८५ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ । यसैका आधारमा नेपालको स्तरोन्नती भएको हो ।
विश्व बैंकले विश्वभरका देशहरूलाई निम्नआय भएका, निम्नमध्यम आय भएका, उच्चमध्यम आय भएका र उच्च आय भएका गरी ४ समूहमा विभाजन गरेको छ । यसअनुसार १०३५ अमेरिकी डलरभन्दा कम प्रतिव्यक्ति आय भएका २९ मुलुक निम्न आय भएका देशको सूचीमा छन् ।
निम्नमध्यम आय भएका मुलुकको सूचीमा नेपालसहित ५० राष्ट्र छन् । यो समूहमा दक्षिण एसियाबाट पाकिस्तान, भारत, भुटान र श्रीलंका छन् । अफगानिस्तान निम्न आय भएका मुलुकको सूचीमा छ भने माल्दिभ्स उच्चमध्यम आय भएका मुलुकको सूचीमा छ ।
विश्व बैंकका अनुसार ५६ देश उच्चमध्यम आय भएका मुलुकको सूचीमा छन्। ४०४६ डलरदेखि १२ हजार ५३५ अमेरिकी डलर प्रतिव्यक्ति आय भएका मुलुक यो समूहमा रहन्छन्। चीनसहितका देश यो समूहमा छन्। उच्च आय भएका अर्थात् प्रतिव्यक्ति आय १२ हजार ५३५ डलरभन्दा धेरै भएका ८३ देश छन्।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट