२३ चैत्र २०७६, आईतवार

सरकारले गएको चैत १० गते देशलाई ‘लकडाउन’ गर्ने निर्णय गरेपछि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थी, अभिभावकसहित आमनागरिक घरभित्रै बस्नुपरेको छ ।
सुरुमा एक हप्ता ‘लकडाउन’ घोषणा गरेको सरकारले फेरि ८ दिन थप गरेको छ । अब फेरि थप नभए पनि २५ गतेसम्म ‘लकडाउन’ हुनेछ । आज ‘लकडाउन’को १२ दिन भैसकेको छ । यसअघि स्थगित भएको परीक्षाको नयाँ तालिका ‘लकडाउन’ खुलेपछि मात्रै आउने भएकोले अहिले घरमै बसेर तयारी गर्न विद्यार्थीलाई शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माको सुझाव छ ।
‘लकडाउन’ पूर्णरूपले खुलेको कम्तीमा २ हप्ताको अवधिमा नयाँ परीक्षा तालिका आउने राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई डर, त्रास र हल्लामा नपरी तयारीमा ध्यान दिन शिक्षा मन्त्रालयका प्रवक्ता शर्माले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘परीक्षाको नयाँ तालिका अहिले नै आउँदैन । त्यसैले अफवाहमा ध्यान नदिई पर्याप्त तयारीमा लाग्नुस् ।’ घरमै बसेर परीक्षाको तयारी गर्दा रेडियो, टेलिभिजन तथा अनलाइन माध्यममा परीक्षाको तयारीका लागि आवश्यक पाठ्यसामग्री उपलब्ध रहेको उहाँले बताउनुभयो । सम्भव हुनेले उपलब्ध भएका ती पाठ्यसामग्री हेर्न र सुन्न तथा सम्भव नहुनेले फोनमा शिक्षक तथा साथीहरुलाई सोधेर तयारी गर्न उहाँको सुझाव छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट