२६ माघ २०७६, आईतवार

टेलिफोन नउठाएको रिसमा आफ्नो विवाहित प्रेमिकाको हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय सुरेन्द्रप्रसाद साह रहेका छन् । साहमाथि सुनसरीको दुहवी नगरपालिका–६ बस्ने ३२ वर्षीया सम्झना खत्री परियारको हत्या गरेको आरोप छ  जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत माघ २४ गते बिहान विराटनगर महानगरपालिका–१२ मा रहेको उखुबारीमा परियारको घाटी काटिएको र घाटीमा सलले बेरिएको अवस्थामा महिलाको शव फेला परेको थियो । सनाखतको लागि उक्त महिलाको फोटो जिल्ला प्रहरी कार्यालय मोरङको फेसबुक पेज, प्रहरी संचार, टेलिभिजन, एफएमलगायतका सञ्चार माध्यमबाट हुलिया परिपत्र गरेपश्चात शव बसन्त परियारकी श्रीमती सम्झना खत्री परियारको रहेको खुलेको थियो ।
प्रहरी अनुसन्धानको क्रममा सप्तरी जिल्ला कृष्णश्रवण गाउँपालिका वडा नं ३ मट्टीगढा घर भई हाल बुढिगंगा गाउपालिका वडा नं. ३ पोठियामा डेरा गरी बस्ने क्वालिटी नुडल्स फ्याक्ट्रीमा स्टोर ईन्चार्जको रूपमा कार्यरत सुरेन्द्रप्रसाद साह र मृतक सम्झना खत्री परियारवीच विगत ३ बर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको खुलेको थियो । त्यसैको आधारमा प्रहरी ले साहलाई नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार माघ २१ गते मंगलबार बिहान १० बजेदेखि मृतक परियार साहको सम्पर्कमा नरहेकाले उनले पटक–पटक फोन गरेका थिए । परियारले फोन नउठाएपछि साह उनकै घरमा भेट्न पुगेका थिए । तर, घरमा कोही फेला नपरेपछि उनी पुनः फ्याक्ट्री फर्किका थिए ।
अपरान्ह चार बजे साह पुनः परियारलाई खोज्न वरपरको क्षेत्रमा डुलिरहँदा बाँसबारी चोक अगाडि भेटेपछि उनलाई मोटरसाइकलमा चढाएर विराटनगर महानगरपालिका–१२ पुर्याएका थिए ।
त्यहाँ गफ गर्ने क्रममा वादविवाद भएपछि रिसको आवेगमा साहले परियारको सल घाँटीमा बेरेर तान्दै उखुबारीमा पुर्याएर धारिलो बाँसलाई हतियारको रुपमा प्रयोग गरी घाटी रेटेर हत्या गरेको प्रहरीको भनाइ छ ।
साहले आफूले नै परियारको हत्या गरेको प्रहरी समक्ष बयान पनि दिएका छन् । प्रहरीले मृतक सम्झना खत्री परियारलाई घटनास्थल सम्म बोकेर लगेको मोटरसाईकल र दुईवटा मोबाइल पनि बरामद गरेको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट