१२ माघ २०७६, आईतवार

पूर्वराष्ट्रपति डा. रामवरण यादवले विकासको नाममा भइरहेको प्राकृतिक सम्पदाको विनाशले सङ्कट निम्त्याउने खतरा रहेको औल्याउनुभएको छ ।
भक्तपुरको कमलविनायकस्थित भोकेसनल एकेडेमीमा रवीन्द्र पुरी फाउन्डेसन फर कन्जरभेसनको १० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले तराईको चुरेदेखि पहाडको डाँडासमेत नासिदै गएकोमा चिन्ता व्यक्त गरे ।
‘अन्नको भण्डारको रुपमा लिइने तराई र काठमाडौँ उपत्यकामा अन्न रित्तिसक्यो, ढुङ्गेधारादेखि पानीको स्रोत सबै सुकिसक्यो,’ उनले भने, ‘तराईदेखि पहाडसम्मका प्राकृतिक स्रोत, सम्पदा र साधनको विनाशले कस्तो अवस्था आउला, त्यही सम्झेर चिन्ता लाग्छ ।’
कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले सम्पदाको संरक्षण गरी रवीन्द्र पुरीले देशलाई योगदान पुर्याएको चर्चा गर्दै प्राचीन कालदेखिको सम्पदालाई जोगाउनुपर्नेमा विशेष जोड दिए । परम्परागत, पुरातात्विक सम्पदा र परम्परागत मौलिक बोकेको घरहरु मासिदै जानु र नेपालको मौलिकता, परिचय नभएका ठूल्ठूला घरहरुको निर्माण हुनु आत्मा नभएको शरीर उभिएजस्तै भएको उनको टिप्पणी थियो । नेपालस्थित जर्मन राजदूत रोल्यान्ड सहिफरले पुरीले सम्पदा संरक्षणमा पुर्याएको योगदानको चर्चा गर्दै नेपालको सुन्दरता, मौलिक संस्कृतिलाई जोगाउन सहयोग गर्ने बताए ।
शिक्षाविद् केदारभक्त माथेमाले सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताउँदै सरकारको शिक्षाको विकासमा आवश्यकताअनुसार ध्यान पुर्याउनुपर्नेमा जोड दिए ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट