१२ माघ २०७६, आईतवार

नेपालमा देखिएको कोरोना भाइरस विश्वका अन्य मुलुकमा देखिएको जस्तो खतरनाक नभएको चिकित्सकहरुले बताएका छन् ।
शुक्रराज ट्रपिकल एण्ड सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले प्रारम्भिक अध्ययनबाट विश्वका अन्य मुलुकमा देखिएजस्तो नेपालमा धेरै खतरा नभएको बताएका हुन् । अमेरिकालगायतका मुलुकमा देखिएको समस्याभन्दा नेपालमा धेरै कम खतरा रहेको उनको भनाइ छ ।
‘प्रारम्भिक नतिजामा चिन्ता गर्नुपर्ने विषय देखिएन् । हाम्रोमा यो रोगका विषयमा धेरैलाई जानकारी नभएकाले पनि चिन्ता बढेको हो कि,’ डा. पुनले भने, ‘चीनमा अहिलेसम्म १७ जनाको मृत्यु भएको पुष्टि भएको छ । तर, मृत्यु हुनेमा सबै ७० वर्षभन्दा माथिका र दीर्घरोगी छन् । बालबालिका र युवाहरुमा ज्यानै जानेगरी संक्रमण देखिएको छैन् ।’
अस्पतालका अर्का चिकित्सक डा. बासुदेव पाण्डेले सुरुमा स्वाइनफ्लुको जस्तै रुघाखोकी लाग्ने, ज्वरो आउने र स्वासप्रस्वासमा समस्या देखिनेजस्ता लक्षण देखिन सक्ने बताए । यी लक्षणहरु देखिए पनि चिन्ता लिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । यद्यपि, यस्तो लक्षण देखिए परीक्षणका लागि अस्पताल जान डा. पाण्डले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसको विस्तृत प्रकोप दर, यसका लक्षण र कति समयपछि असर गर्छ भन्ने कुराहरु अझै अध्ययनकै क्रममा रहेको बताए । विश्वभरी फैलिएको यो रोगका विषयमा धेरे प्रश्नहरु अनुत्तरित रहेको बताउँदै उनले नेपालमा फैलन सक्ने संक्रमणतर्फ मन्त्रालय सतर्क रहेको दाबी गरे ।
नेपालमा एकजनामा संक्रमण भेटिएको र उनको सम्पर्कका अन्य व्यक्तिहरुको सूची तयार गरी सबैको अवस्थाका विषयमा जानकारी लिने काम भइरहेको उनले बताए । चीनसँग जोडिएका नाकाहरु र त्रिभुवन विमानस्थलमा चीनबाट आउने सबैको स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको जनाइएको छ ।
कुनै व्यक्तिमा लक्षण देखिएमा शुक्रराज ट्रपिकल सेन्टर, पाटन अस्पताल लगायत अन्य निजी तथा सरकारी अस्पतालमा उपचारको व्यवस्था गर्ने गरी मन्त्रालय अगाडि बढेको प्रवक्ता श्रेष्ठले बताए ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट