२९ पुष २०७६, मंगलवार

नेपाली कांग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले १४ औँ महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन हुने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन झापाले हिजो विर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले अधिवेशनबाट पार्टीमा भएको गुटको अन्त्य गरेर एक ढिक्का भई अघि बढ्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली कांग्रेसलाई एक ढिक्का बनाएको खण्डमा कसैले हराउन सक्दैन, हाम्रो हार भनेको हामी बिचकै तिक्तता र फुटका कारणले भएको हो ।” उहाँले पार्टी सभापति शेरबहादुर देउवा गुट समातेर सभापति भएको आरोप समेत लगाउनुभयो । गुटभन्दामाथि उठेर सबैलाई समेटर लैजानसक्ने क्षमता पार्टी सभापतिमा नभएको उहाँको टिप्पणी थियो ।
उहाँले राष्ट्र र पार्टीका लागि देउवासँग नयाँ सपना नभएको उल्लेख गर्दै १४ औँ महाधिवेशनले सक्षम, क्षमतावान र सपना भएको नेतृत्व चयन गर्ने बारेमा रामचन्द्र पौडेल, शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, रामशरण महतलगायतका नेतासँग छलफल भइरहेको बताउनुभयो । उहाँले पार्टीमा आन्तरिक समस्या भएकै कारणले सशत्त प्रतिपक्षको भूमिका निर्वाह गर्न पनि नसकिएको स्वीकार गर्नुभयो ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट