३ मंसिर २०७६, मंगलवार

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नोबेल मेडिकल कलेजका पदाधिकारीको तीनपुस्ते विवरण लिएको छ ।
एमबीबीएस र बीडीएसलगायतका विद्यार्थीबाट सरकारले तोकेभन्दा धेरै अतिरिक्त शुल्क लिएको आरोप लागेकै बेला विभागका तीन सदस्यले आइतबार र सोमबार कलेजका सञ्चालक, उच्च तहका कर्मचारीको विवरण र परिवारको नामावलीसहित हालसम्म भर्ना भएका सबै कार्यक्रमका विद्यार्थी संख्या, शुल्क सम्बन्धी विद्यार्थी र अभिभावक तथा अन्यसँग भएका सम्झौताको प्रतिलिपि लिएका छन ।
कलेजको लेखापरीक्षण प्रतिवेदन, कलेजको आर्थिक प्रशासन सञ्चालन सम्बन्धी कानुनको प्रमाणित प्रतिलिपि पनि टोलीले लगेको सञ्चालक सुनिल शर्माले बताउनुभयो  । त्यसैगरी चिकित्साशास्त्र विभिन्न विधामा भर्ना भएका विद्यार्थी र परीक्षाको पाँच वर्षको विवरण, कलेजका निर्णयहरू, सम्पत्ति विवरण र अध्ययनरत तथा गएका विद्यार्थीका नामावली र शुल्कको विवरण पनि विभागको टोलीलाई उपलब्ध गराइएको शर्माले बताउनुभयो  । कलेज सञ्चालक शर्मा, पत्नी इन्दिरा बराल शर्मा, बाबु लोकनाथ न्यौपाने, आमा हुमादेवी, छोरा इशान, छोरी स्वयन, लेखा प्रमुख अमिर न्यौपाने, प्रशासन प्रमुख दीपेश राई, प्रबन्धक नारायण दाहाल र प्राध्यापक डिल्लीराम निरौलाको तीनपुस्ते विवरण टोलीले लगेको छ ।
नोबेल मेडिकल कलेजले तीन वर्षमा ३५ करोड ४७ लाख ४४ हजार १ सय १८ रुपैयाँ विद्यार्थीबाट अतिरिक्त लिएको केन्द्रको ठहर छ । त्यसैगरी सन् २०१८ मा मात्र यो कलेजले प्रतिविद्यार्थी भर्नामा ७ लाख ४५ हजार रुपैयाँ अतिरिक्त उठाएको र अन्य शीर्षकमा पनि प्रतिविद्यार्थी १७ लाख ९५ हजार ७ सय ३२ रुपैयाँ असुली गरेको र सन् २०१८ मा मात्र कलेजले ५० पेइङ विद्यार्थीबाट १२ करोड ७० लाख २६ हजार रुपैयाँ बढी उठाएको केन्द्रको प्रतिवेदन छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट