२५ भाद्र २०७६, बुधबार

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनामा देखिएको क्यान्सर निको पार्ने बताउनु भएको छ ।
यसका लागि आगामी वर्ष आफू अझ कठोर हुने भन्दै उहाले सकल दर्जालाई सचेत गराउनुभएको छ । नेपाली सेनाको कमाण्ड सम्हालेको एक वर्ष पुगेको अवसरमा जङ्गी अड्डाबाट सकल दर्जालाई सम्बोधन गर्दै सेनापति थापाले आफ्नो एक वर्षे अनुभव सुनाउनुभयो । जर्जर महलको तीन वर्षे हाकिम भएर विदा हुनुभन्दा सुरुमै आवश्यक मर्मत सम्भार गर्नुपर्छ भनेर आफूले सुधार अभियान थालेको उनको भनाई थियो । ‘परम्परागत शैलीबाट संगठन चलायौं भने हामी त सेवानिवृत्त भएर जान्छौं तर निकट भविश्यमा कुनै एक दिन फर्किन नसक्ने गरी समस्याहरुको भूमरीमा परी टाउकोमा हात राखेर बस्नुपर्छ अवस्था तपाईंहरुले भोग्नुपर्ने हुनसक्छ,’ थापाले भने । सुधार अभियान सुरु गर्दा एक वर्षको अवधि धान्न चुनौतीपूर्ण होला भन्ने आफ्नो विश्लेषण रहेपनि संगठनमा देखिएको उत्साह र सकारात्मक प्रभावले थप एक पाइला अगाडि बढ्न हौसिएको बताउनुभयो । शान्ति सेनाको कोटाबारे आफूले चालेको कदम चुनौतीपूर्ण तर सेनामा घट्दो आकर्षणलाई रोक्न एक मात्र विकल्प भएको उहाले बताउनुभयो । यसले सेवारत जर्साबहरुलाई बाधा पुगेको हुनसक्ने भए पनि सबैले सहयोग गरेको थापाले बताउनुभयो । संगठनको समस्याका रुपमा भर्ना प्रक्रियामा भनसुन, अपारदर्शी खर्च, कमसल भौतिक संरचनाका साथै सेनाको चरित्रहरण गर्ने विषयलाई पहिल्याएको उनले बताए । ‘जहाँ समस्या छ, त्यहाँ औषधि सर्जरी गर्दैनौं भने निको कसरी हुन्छ ?’, सेनापति थापाले भने, ‘केही समस्या नियमित अभ्यासले संस्थागत भएको होला । र, यो समाधान गर्न केही समय पनि लाग्न सक्छ ।’ उनले अघि भने, ‘केही घाउ खटिरा हुनसक्छन् । घाउका रुपमा केही अवशेष र क्यान्सर बाँकी रहृयो भने त्यसले नेपाली सेनालाई सदा दुःख दिइरहने छ ।’ तर, आफूले हिरो बन्न वा सस्तो लोकप्रियताका लागि प्रणाली र पद्धतीमा सुधार प्रयास नथालेको उनले बताए । ‘मसँग धेरै सहज बाटाहरु पनि थिए र, अझै पनि छन् । तर मैले कठिन भएपनि सही तरिकाले पदीय दायित्व निभाउने अठोट गरेको छु,’ थापाले भने, ‘बाधा व्यवधानहरु पच्छाएर, गलत पद्धती विकास हुन नसक्ने गरी सम्भावित उत्तराधिकारीलाई पद हस्तान्तरण गर्न चाहन्छु ।’
यसैबीच नेपाली सेनाले पहिलो पटक प्रधानसेनापतिको सम्पत्ति सार्वजनिक गरेको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यभार सम्हालेको एक वर्ष पूरा भएको अवसरमा थापाको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो । नेपाली सेनामा यसअघि प्रधानसेनापतिको सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रचलन थिएन । थापाको काठमाडौं महानगरपालिका २६ मा घर छ भने काठमाडौं, नवलपरासी र लमजुङमा केही पैत्रिक र केही आफूले किनेको जग्गा रहेको उहाको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै ५५ तोला सुन, ५९० तोला चाँदी, करिब १० लाख रुपैयाँको हार रहेको थापाले सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ । आफ्नो र श्रीमतीको नाममा बैंक ब्यालेन्स, विभिन्न कम्पनीको सेयर र वित्तीय संंस्थाको ऋण पनि थापाले सम्पत्ति विवरणमा खुलाउनु भएको छ ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट