२६ असार २०७६, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा आफूलाई समेत झुक्याइएको बताउनु भएको छ ।
प्रधानमन्त्री ओलीले विषादी प्रकरणको सम्बन्धमा भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई बेलैमा जानकारी नदिएका कारण नेपाली जनताको सामु लज्जित हुनु परेको बताउँदै माफीसमेत माग्नु भएको छ ।
बिहीबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले विषादी प्रकरणबारे भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई बेलैमा जानकारी नदिएकै कारण नेपाली जनताको सामु पत्र नआएको सार्वजनिक अभिव्यक्ति दिनुपरेको पनि स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपाली जनताको भान्सामा विषादी हुन दिनुहुन्न भन्ने प्रधानमन्त्री आफूमात्रै भएको दावी गर्दै आफूविरुद्ध चलाएको कुनै पनि मिसन पूरा हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफूविरुद्ध भ्रम छर्न खोजिएको तर त्यसलाई सफल हुन नदिने प्रधानमन्त्री ओलीले बताउनु भएको छ ।
प्रधानमन्त्री ओलीले बुधबार आफू सहभागी भएको त्रिविको प्राज्ञ सभा कार्यक्रममा ओछयाइएको रातो कार्पेट पानीले भिजेको तर त्यसलाई लिएर पनि आफूविरुद्ध सञ्चार माध्यमले समाचार बनाएको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले कालोपत्रे नभएको बाटोमा हिलो भएको विषयलाई लिएर पनि समाचार बनाएको उल्लेख गर्दै मिसन पत्रकारिताले आफूलाई हैरान बनाएको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले प्रदेश सरकार संघीय सरकारको मातहत रहेको पनि दोर्होयाउनु भयो । प्रदेश सरकारलाई स्वतन्त्र सरकारको रुपमा लिइएकोमा आपत्ति जनाउँदै प्रधानमन्त्री ओलीले संवैधानिक व्यवस्था अनुसार नै प्रदेश सरकार संघीय सरकारको मातहत रहेको बताउनु भयो ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट