१७ असार २०७६, मंगलवार

संखुवासभा संखुवासभाको सिलिचोङ गाउँपालिका १ सिसुवाखोलामा पर्ने होङ्ला भन्ने स्थानमा बिहान प्रहरी र नेत्र विक्रम चन्द समूहबीच गोली हानाहान भए पछि हेलिकप्टरबाट गस्ति सुरु गरिएको छ । सिलिचोङको आकाशमा अहिले सेनाको ३ वटा हेलिकप्टरले हवाई गस्ति गरिरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी मिमबहादुर लामाले बताउनुभयो । उहाँका अनुसार बिहान ९ बजेतिर गस्तिमा गएको सशस्त्र र नेपाल प्रहरीमाथि चन्द समूहका कार्यकर्ताले आक्रमण गरेका थिए । प्रहरीले जवाफी फायरिङ गरेपछि दुबै समूहबीच गोली हानाहान भएपनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रहरीको नियमित गस्ति होङ्लामा पुगेको थियो । गस्ति टोलीलाई देखेपछि चन्द समूहका कार्यकर्ताले एक्कासी फायर गरेका थिए । प्रहरीले जवाफी फायरिङ्ग खोलेपछि चन्द समूहका कार्यकर्ता भागेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताउनुभयो । काठमाडौं र एउटा विराटनगरबाट आएको दुई वटा हेलिकोप्टरले हवाई गस्ति गरिरहेको हो । काठमाडौँबाट सशस्त्र र नेपाल प्रहरीका ५० जना भन्दा बढी जवान सिलिचोङमा उतारिएको छ । सदरमुकाम खाँदबारी पुगेर सेनाको हेलिकोप्टरले सिलिचोङको बस्ती र मकालुवरुण जंगलको क्षेत्रमा गस्ति गरिरहेको हो । हवाईसँगै स्थलगत रुपमा पनि प्रहरी र सशस्त्र परिचालन गरिएको छ । चन्द समूहका कार्यकर्ता २५ जना भन्दा बढी रहेको स्थानीयले जनाएका छन् ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट