१ असार २०७६, आईतवार

सरकारले सबै यातायात व्यवसायीलाई कम्पनीमा दर्ता हुन तीनपटक समय थपे पनि केहीले अझै अटेर गरेका छन् ।
अहिलेसम्म १ हजार ६७४ व्यवसायी मात्र कम्पनीमा दर्ता भएका छन् । यातायात व्यवसायीका विभिन्न संघ र संस्था मिलेर बनेका समितिको संख्या झण्डै ३ सय रहेकोमा १ सय ५० समिति मात्र कम्पनीमा गएका छन् ।
सार्वजनिक यातायात समितिलाई कम्पनीमा आउन अन्तिम पटक थपिएको म्याद आज सकिएको छ । कम्पनीमा दर्ता हुन अटेर गर्ने गाडीको रुट परमिट खारेज हुने सरकारले बताएको छ । अबको एक हप्ताभित्र यसबारे निर्णय गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘पहिले आउन नमानेका सबै ठूला यातायात समितिहरु अहिले कम्पनीमा आइसकेका छन् । आउन नचाहनेहरुलाई अब कारबाही अपनाउनुपर्ने हुन्छ ।’
उहाँले यसअघि पनि कम्पनीमा दर्ता नहुने व्यवसायीको रुट परमिट खारेज हुने बताउनुभएको थियो । तर धेरै समिति कम्पनीमा दर्ता नभएपछि सरकारले तीन पटकसम्म म्याद थप्यो । अहिले कम्पनीमा दर्ता हुने समय सकिसकेको र दर्ता भएकाहरुको अन्य प्रक्रियागत कार्यहरु भइरहेको छ’, उहाँले भन्नुभयो, ‘अन्तिम म्याद नाघ्दासम्म पनि कम्पनीमा नआएका यातायातको रुट परमिट खारेज गरिने र थप कारबाही अघि बढाइने छ ।’
पछिल्लो पटक थपिएको म्यादमा जम्मा ६५ वटा यातायात समितिहरु मात्र कम्पनीमा दर्ता भएका छन् । कम्पनी रजिष्ट्रार कार्यालयका उप रजिष्ट्रार टंक भट्टराईले भन्नुभयो, ‘योभन्दा पहिले पनि दुई पटक म्याद थपिएको थियो । त्यतिबेला ८५ वटा यातायात समिति कम्पनीमा दर्ता भएका थिए ।’
सार्वजनिक यातायातमा भएको सिण्डिकेटलाई अन्त्य गर्न सरकारले अघिल्लो वर्ष २०७५ वैशाख ४ मा सबै सार्वजनिक यातायात समितिलाई कम्पनीमा आउन निर्देशन दिएको थियो ।

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट