११ भाद्र २०७४, आईतवार

बाबियाचौर (म्याग्दी), ११ भदौ । बेनी नगरपालिका–६ बगुवाखोलामा रहेको बालजागृति आधारभूत विद्यालयद्वारा सञ्चालित बौद्धिक अपांगता स्रोत कक्षाको छात्रावास भवन निर्माण शुरु भएको छ ।

तीनकोठे एक तले भवन निर्माण योजनाको शनिबार बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ र जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले संयुक्तरुपमा शिलान्यास गर्नुभयो ।
प्लान इन्टरनेशनलको रु ५५ लाख ६२ हजार १८ सहयोग र समुदायको रु दुई लाख पाँच हजार ७९३ बराबरको श्रमदानमा भवन निर्माण हुन लागेको सङ्घका कार्यक्रम अधिकृत राम पौडेलले बताउनुभयो ।

छात्रछात्राको आवासका लागि छुट्टाछुट्टै एक÷एकवटा आवास कोठा, एकवटा भान्छाकोठा, एट्याच बाथरुम, अपांगतामैत्री ¥याम्पसहितको एक तले भवन निर्माणका लागि शेर्पा कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको छ ।

बालजागृति आधारभूत विद्यालयमा अध्ययनरत बौद्धिक अपांगता भएका बालबालिकाको आवासीय सुविधाका लागि निर्माण हुन लागेको भवनको क्षमता ३० जनाको छ । विसं २०६८ देखि सञ्चालित स्रोत कक्षामा हाल २० जना बौद्धिक अपांगता भएका बालबालिका अध्ययनरत रहेका प्रधानाध्यापक भक्त कार्कीले बताउनुभयो । रासस

तपाईंको प्रतिकृयाहरू

ताजा अपडेट