काठमाडौं, भदौ ९ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिले देशकै शिर निहुराएको आरोप लगाएका छन् ।
नियमित स्वास्थ्य चेकजाँचका लागि आज थाइल्याण्ड जानुअघि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले संविधानको सर्वस्वीकार्यताबारे प्रधानमन्त्रीले भारतमा दिएको अभिव्यक्ति “लज्जाजनक” रहेको बताए । प्रधानमन्त्रीले कसैलाई खुसी पार्न यस्तो अभिव्यक्ति दिएको ओलीको आरोप छ।
वर्तमान संविधानअनुसार प्रधानमन्त्री बनेको र यसैको शपथ लिएको व्यक्तिले अप्रासंगिकरुपमा संविधानको कुरा उठाउनु भनेको कसैलाई खुसी पार्नुबाहेक केही नभएको उनको आरोप थियो ।
प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटपछि बिहीबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा संविधानको सर्वस्वीकार्यता बढाउन पहल गर्ने अभिव्यक्ति दिएका थिए। “उहाँले गिडगिडाएर शर्मनाक ढंगले प्रभु मैले गर्न सकिनँ, कोशिस गरेको थिएँ। तर म गर्छु, त्यसका लागि वातावरण बनाइदिनुपर्यो भनेर याचना गर्नुभयो,” ओलीले अघि भने, “उहाँको हाउभाउ र प्रस्तुति हेर्दा देशकै शिर निहुरिन्छ। अत्यन्तै दुस्ख लागेको छ।”
पूर्व प्रधानमन्त्री ओली प्रत्येक ६्६ महिनामा नियमित फलोअपका लागि थाइल्याण्ड जाने गरेका छन् । यसपटक भने चुनाव नजिकिएकाले बीचमा जान नपाइने सम्भावना रहेकाले साढे ३ महिनाको अवधिमा नै ओली थाइल्याण्ड गएको उनको सचिवालयले जनाएको छ। ओली आगामी बुधबार स्वदेश फर्किनेछन्।